विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना र लकडाउनले पर्यटन क्षेत्रमा पुर्‍याएको असरका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ । बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको असर कायमै रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् । अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै गएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ । जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने विश्व बैंकले जनाएको छ ।

अघिल्ला मन्दीहरूमा खस्कँदो लगानी र निर्यातले गिरावट ल्याउने गरे पनि यसपालिको अर्थिक मन्दी फरक भएको विश्व बैंकको भनाइ छ । परम्परागत रूपमा दक्षिण एसियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचकका रुपमा रहेको निजी उपभोग १० प्रतिशतले घट्ने भएकाले गरिबीको दर पनि बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्समा आएको गिरावटले पनि अति विपन्नहरूले तीव्र गतिमा आय श्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ। माल्दिभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना रहेको बताए । त्यस्तै उनले उनीहरूलाई आय, सामाजिक सुरक्षा, र रोजगारीसहितको सहयोग तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए । नेपालमा अनौपचारिक व्यवसायहरूमा करिब ५० प्रतिशत उद्यमहरू पर्छन् र यी उद्यमहरू अधिकांश श्रमजविहरूको कमाईको मुख्य स्रोत हुन् । यस समूहमध्ये, सहरी अनौपचारिक क्षेत्रका कामदारहरू र सहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!