शनिबार, आश्विन १७, २०७७ || 604  पटक पढिएको

दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्‍जका सूचना अधिकारी अशोक रामले दिएको जानकारी अनुसार शुक्रबार नवलपुर लामिचौरमा रहेको निकुञ्‍जको पोष्टदेखि ३ किलोमिटर दक्षिणमा निकुञ्‍जभित्र गैंडा मृत फेला परेको हो । गैंडाको खाग खुर सुरक्षित नै छ । तर लगभग दुई महिनाअघि मरेको आशंका गरिएको गैंडाको उमेर र लिंग छुट्याउन नसकेको सूचना अधिकारी रामले बताए । चितवन राष्ट्रिय निकुञ्‍जमा साउन महिनायता मरेको यो चौथों गैंडा हो । यसअघि निकुञ्‍जभित्र गएको भदौ २१ गते एउटा गैंडा मृत भेटिएको थियो । भदौ १६ गते गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्‍ज प्रशासन र सेनाको टोलीले ५ दिनपछि बाँदरझुला टापुको घोलामा मृत गैंडा फेला पारेको थियो । त्यसको पनि खाग खुर सुरक्षित थियो । तर टाउँमा गोलीको घाउ र शरीरमा तिखो हतियारले हानेको चोट पनि थियो ।

निकुञ्‍जका अधिकारीहरुले भदौ २१ म मृत फेला परेको गैंडालाई चोरी सिकारीले मारेको निष्कर्ष निकालेका छन् । अन्य गैंडा कालगति वा दुर्घटनावश मरेको निकुञ्‍जको भनाइ छ । ‘गस्ती टोलीले पुरानो अवशेष पनि फेला पार्दछ । शुक्रबार त्यही क्रममा मृत गैंडा भेटिएको हो’ सूचना अधिकारी रामले भने ।

चितवन निकुञ्‍जमा यो आर्थिक वर्ष सुरु भएपछि साउन १७ र भदौ ६ मा पनि मृत गैंडा फेला परेको रामले जानकारी दिए । चितवन निकुञ्‍ज नेपालमा एकसिंगे गैंडाको मुख्य वासस्थल हो । २०७२ वैशाखमा सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार देशभर ६४५ गैंडा थिए । त्यसमध्ये चितवन निकुञ्‍ज र यस आसपासको जंगलमा ६०५ पटा गैंडा फेला परेका थिए । त्यो गणनापछि वर्षेनी ठूलो मात्रामा गैंडा मरेका छन् ।

चितवन निकुञ्‍जमा चोरी सिकारीले गैंडा मार्ने ठूलो समस्या थियो । तर ०६७ सालयता चोरी सिकार शुन्यको अवस्थमा पनि पुग्यो । तर प्राकृतिक र दुर्घटनावस हुने मृत्यु चिन्ताजनक रुपमा बढेको निकुञ्‍चका अधिकारीहरु बताउँछन् । आर्थिक वर्ष ०७४/७५ मा २६ वटा गैंडा मरे । त्यसैगरी ०७५/७६ मा निकुञ्‍ज इतिहासमै सर्वाधिक ४३ वटा गैंडा मरेका थिए ।

निकुञ्‍ज कार्यालयका अनुसार गएको आर्थिक वर्ष ०७६/७७ मा फेरि संख्या घटेर २६ मै सीमित भयो । तर यो आर्थिक वर्ष सुरु भएर तीन महिनामा चार गैंडा मर्दा एउटा गैंडा चोरी सिकारीका कारणले पनि मरेको छ । लामो समयदेखि शुन्यमा रहेको चोरी सिकार फेरि सुरु हुँदा संरक्षणकर्मी चिन्तित छन् । चितवन निकुञ्‍जमा चोरी सिकारका कारण कुनै बेला वर्षमा ३७ वटासम्म गैंडा मरेका थिए ।

चोरी सिकार नियन्त्रणका लागि सुरक्षा उपस्थिति बढाए पनि बासस्थल सुधार र गैंडा आहाल बस्ने पानीका स्रोतहरुको संरक्षण नहुँदा प्राकृति मृत्यु बढेको संरक्षणकर्मीहरुको भनाइ थियो । पछिल्ला वर्षहरुमा निकुञ्‍जले घाँसे मैदान र घोलहरुको सुरधारका लागि खर्च गर्न थालेको छ ।

यसैगरी चोरी सिकार नियन्त्रणमा सुरक्षा रणनीति बदल्न र चोरी सिकार विरोधी निकुञ्‍जको संयन्त्रलाई मजबुद बनाउन निकुञ्‍जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!