२० मिटर पर चोकमा रहेका प्रहरीलाई समेत कुनै चासो देखिँदैन
६० वर्ष कटेकाहरू ठेलमठेल लाइन बसिरहेका छन् । अधिकांशले मास्क लगाएका छैनन् । केहीले चिउँडोमा अड्याएका छन् । लाइन अव्यवस्थित छ । सामाजिक दुरी कसैले पालना गरेको छैन । बरु सबै जना झुरुप्प भएर गफ चुटिरहेका छन् । धादिङ सदरमुकामको बीचबजारस्थित प्रभु बैंकअगाडि सामाजिक सुरक्षा भत्ताका लागि लाम लागेका उनीहरूलाई व्यवस्थित गर्न बैंक कर्मचारीसमेत छैनन् । २० मिटर पर चोकमा रहेका प्रहरीलाई समेत कुनै चासो देखिँदैन ।
६ वटा बैंकका शाखा रहेको बीचबजारमा यसै पनि भिडभाड रहन्छ । आइतबार बिहान ६ बजेदेखि नै प्रभु बैंकको गार्ड बस्ने मूल सटरदेखि सडकसम्मै ज्येष्ठ नागरिकहरूको भिड थियो । नगरप्रमुखका १ सय ३ वर्षीय बाबु सोमनाथ पाण्डे पत्नीसँगै मूलढोकामै गार्ड बस्ने कुर्चीमा बसेका थिए । नीलकण्ठ नगरपालिकाको २ नम्बर वडाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बैंकमा पठाइसकिएको खबर दुई घण्टासम्म हिँडेर स्थानीयहरू बैंकमा आइपुगेका थिए । निषेधाज्ञाले सवारीसाधन नचलेपछि लट्ठी नै उनीहरूको सहारा थियो ।
कोरोना संक्रमणका कारण धादिङमा भदौ २४ सम्म निषेधाज्ञा छ । यस अवधिमा भिडभाड हुने गतिविधि गर्न प्रशासनले रोक लगाएको छ । पसल–व्यवसाय ठप्प छन् । बैंकहरूलाई सातामा पालो मिलाएर खोल्न दिइएको छ । तर, बैंकले कोरोना संक्रमण फैलन नदिन न्यूनतम मापदण्डसमेत अपनाएको पाइँदैन ।
‘सबै वडा कार्यालयसँग समन्वय गरेर बस्तीमै गई भत्ता वितरण गर्ने कि भन्ने सल्लाह हुँदै थियो,’ प्रभु बैंकका शाखा प्रबन्धक ईश्वर श्रेष्ठले भने, ‘आइतबार वैंक खुल्ने थाहा पाएर सर्लक्कै आएछन्, हामी व्यवस्थित गर्छौं ।’ प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जनस्वास्थ्यका मापदण्ड नअनाए बैंक पनि बन्द गरिने बताए । ‘खेलबाड गर्न पाइन्न,’ उनले भने, ‘अहिले लाइन व्यवस्थित गर्न प्रहरी खटाइएको छ ।’