
तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

पाँच जनाको परिवारलाई डेढ सय रुपैयाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको २०० रुपियाँ सम्म परेको अनुभव बलुवाहीकी उपभोक्ता कविता यादबले हिपमत डटकमलाई बताए । पहिले दुई÷तीनथरी तरकारी र अचार हुने कविता यादबको भान्सामा अचेल एकथरी मात्रै तरकारी पाक्छ ।
शान्ति चोकमै तरकारी भाउ बुझिरहेका अमर टोलमा डेरा गरी बस्ने बबिता कुमारी यादबले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाए । उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताए । यादबले तरकारीको भाउ छोइसक्नु छैन ।सरकारले लकडाउन खोले पनि बिराटनगर महानगरपालिकाले फेरी लकडाउन गरेपछि तरकारीको भाउ झन् महँगियो उनको भनाई छ ।
प्रायः तरकारी महँगो
बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ४५ देखि ५० रुपैयाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ६० देखि ८० रुपैयाँ पुगेको छ ।
दस पन्ध्र दिन अगाडिसम्म प्रतिकेजी ३० देखि ४०रुपैयाँसम्ममा पाइने गोलभेँडा थोकमै ७० देखि ८० रुपैयाँसम्म पुगेको प्रतिभा चौकमा तरकारी पसल भएको कौशलले बताए ।
यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ दोबरले बढेको छ ।