
रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनको सुरक्षामा खटिएका एक सुरक्षा गार्डले आज बिहान आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएका छन् । देवदह–५ दुर्गामन्दिर टोल घर भई वडा नं.७ शीतलनगरस्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले आफ्नै शरीरमा आगो लगाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

शरीरका मट्टितेल छर्किएर आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बिहान अस्पतालमा मृत्यु भएको बताए । उनले आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
देवदह नगरपालिका मेयर हिरा केसीले बस्याललाई एक हप्ता जति दैनिक ज्यालादारी चौकिदारको काम गर्ने गरी वडा कार्यालयले सुरक्षा गार्डको काममा राखेको बताए । उक्त क्वारेन्टिनमा १६ जना रहेका छन् । पछिल्लो समय प्रहरीमा जनशक्ति कम भएपछि स्थानीय तहले एक जना सुरक्षा गार्ड नियुक्त गर्ने सहमति अनुसार उनलाई नियुक्त गरिएको मेयर केसीले बताए ।