शनिबार, साउन १७, २०७७ || 2534  पटक पढिएको

सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेल कुटिएका छन् । भ्रष्टाचार विरोधी अभियान्ताको छवि बनाएका उप–सचिव सञ्जेल शनिबार कार्यालयमा कुटिएका हुन।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ ।

सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका हुन् ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताए ।

सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायत प्रहार भएको प्रहरीले बताएको छ । दुवैजना कार्यालयका करारका कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुटपिटबाट सञ्जेलको निधारलगायत अनुहारका विभिन्न भागमा चोट लागेको छ ।

सञ्जेल प्राय सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्छन् । प्राय रातिकाे ७-८ बजेसम्म उनी कार्यालयकै काममा व्यस्त हुन्छन् ।

शनिबार घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीका अनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर कुटपिट गरेका थिए ।

कार्यालयका चालकलाई प्रमुखसँग आफूहरुको मिटिङ रहेको भन्दै कोठाबाट बाहिर निकालेर ढोकाको चुक्कुल लगाउँदै सञ्जेलमाथि आक्रमण गर्न थालेको पाइएको उनले बताए ।

‘घटना थाहा पाएर हामी वरपरका सबै छुट्याउन गयौं । सञ्जेल आफैले ढोकाको चुक्कुल चैं खोल्न भ्याएको पाइयो,’ उनले भने, ‘योजनावद्ध रुपमै आक्रमण भएको थियो, छुट्याउन नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था थियो ।’

सरकारी कार्यालयमाा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते श्रम कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै सञ्जेलको सरुवा व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरी भयो ।

आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा २०७५ फागुन रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

भ्रष्टाचारविरुद्ध आक्रमण हुने सञ्जेल आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँदै आएका छन् ।

यता कुटपिटमा संलग्नहरुले पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनावश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले कुटपिट गरेको प्रहरीसँग बयान दिएका छन् ।
साभार-कोशी अनलाईन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!