
भोजपुरी नायिका रानी चटर्जीले मंगलबार सोसल मिडियामा चकित पारिदिने खुलासा गरेकी थिइन् । उनले आफू डिप्रेशनसँग जुधिरहेको र अब आफूमा हिम्मत बाँकी नरहेको बताएकी छिन् । उनले आत्महत्या गर्ने कुरा पनि कोट्याएकी छिन् । यी सबका लागि रानी चटर्जीले धनंजय सिंहका नामका व्यक्तिलाई जिम्मेवार देखाएकी छिन् ।

रानी चटर्जीले आफ्नो फेसबुक पेजमा लेखिन्, ‘डिप्रेशनमा म असाध्यै धेरै डिस्टर्ब भइसकेकी छु । म धेरैजसो बलियो भइरहन र सकारात्मक सोच हुनुपर्ने विषयमा कुरा गरिरहन्छु तर अब मेरो सोच, मेरो धारणा फेल खाइरहेको छ । यी व्यक्तिले थुप्रै वर्षदेखि मेरा बारे कस्ता कस्ता फोहोरी कुरा फेसबुकमा लेखिरहेका छन् । मैले यसलाई वास्ता नगर्न कोसिस गरेँ । मैले थुप्रै मानिसहरुसँग यसबारे कुरा पनि गरेँ । सबैले वास्ता नगर्न सुझाए तर म पनि एक व्यक्ति नै हुँ । म मोटी छु, बुढी छु वा म केही काम गर्छु भन्दैमा यी व्यक्तिले यस्ता भद्दा कुरा लेख्न मिल्छ ? मलाई सबैले यस्ता कुरा पठाउँछन् र वास्ता नगर्न भन्छन् । अब मेरो सहनशीलता गुमिसकेको छ ।’
https://www.facebook.com/ImRaniChatterjee/posts/2546427459003153
नायिका थप लेख्छिन्, ‘म थुप्रै वर्षदेखि यो कुराको कारण निकै चिन्तित भइसकेकी छु । मानसिक तनावसँग गुज्रिसकेकी छु । उनले सायद मैले आत्महत्या गरोस् भन्ने चाहन्छन् । उनकै कारण मेरो नीजि जीवनमा पनि अत्यधिक तनाव छ । मुम्बई प्रहरीसँग मेरो यो अनुरोध छ कि मैले केही गरिहालेँ भने यसको जिम्मेवार धनञ्जय सिंह नै हुनेछन् । मैले साइबर सेलमा पनि यसबारे उजुरी दिएकी थिएँ तर त्यहाँ मलाई ती व्यक्तिले मेरो नाम नलेखेको भन्दै उजुरी दर्ता गर्न नमिल्ने बताए । तर मलाई राम्रोसँग थाहा छ कि उनले मेरा लागि मात्रै लेख्छन् । उनको यस्तो पोस्टमा मानिसहरुले मेरो नाम लेखेर निकै तुच्छ गाली गर्छन् र उनले यसको मज्जा लिन्छन् । म हताश भइसकेकी छु अब हिम्मत बचेको छैन । मैले आत्महत्या गर्ने बाहेक अरु विकल्प देखेकी छैन किनभने म यसैका कारण थुपै वर्षदेखि डिप्रेशनसँग जुधिरहेकी छु । अब थप सहन सक्दिनँ ।’
कामको कुरा गर्ने हो भने रानी चटर्जी आफ्नो नयाँ भोजपुरी फिल्म ‘पांचाली’ सहित दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि पूर्ण रुपमा तयार छिन् । उनले हालै आफ्नो यो फिल्मको पहिलो पोस्टर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।