बुधबार, आषाढ १०, २०७७ || 1887  पटक पढिएको

चराहरूको आ–आफ्नै किसिमको गुँड बनाउने तरिका हुन्छ । जहाँ हामी ठुल्ठूला गरुड चरादेखि लिएर सानो फिष्टो चरासम्मको आफ्नै किसिमको मिहिनेत र तरिकाले गुँड बनाएको देखेका छाँै । चराहरूमा प्रायः एउटै प्रजातिले एकैखाले गँुड बनाएका हुन्छन् । हामी मानवजातिमा जस्तो एउटै परिवारका लागि पनि १० ठाउँमा घर बनाएका हुन्छौँ । सानो गुफा, झुपडी, महलदेखि गगनचुम्बी भवन बनाउन लागि पर्छौं र आफँैलाई सोच्छाँै हामी मानवजाति पो हौँ त । तर, चरा प्रजातिमा जब प्रजनन प्रक्रिया शुरु हुन्छ तब यिनीहरू आफ्नो गँुड बनाउन तयार गर्छन् । उनीहरू हतार नगरीकन सोच–विचार गरेर मात्र गुँडका लागि तयार हुन्छन् । गुँड बनाउँदा कुनै प्रजातिको चरामा भाले र पोथी दुवै मिलेर बनाएका हुन्छन् त कुनै प्रजातिमा भालेको एकल प्रयासले मात्र पनि गुँड बनाएको हुन्छ ।

तोप चराको भालेले पोथीलाई आफूतिर आकर्षित गर्न गुँड तयार गरेको हुन्छ । भालेहरू गुँड बनाउन यति धेरै लागिपर्छन् कि गुँडका लागि भालेले ३ किमिसम्म गएर सिरुको पात ल्याउँछन् । त्यसरी ल्याएको सिरुपातको केस्रा केस्रा केलाएर मसिनो रेशाहरूले गुँड बुन्न भाले खप्पिस हुन्छन् । यसरी एउटा भालेले ध्यानपूर्वक १ देखि २ दिनभित्र गुँड तयार पारिसक्छ । रोचक त के छ भने भालेले पोथी चरीकै लागि गरेको यत्रो दुःख कहिलेकाहीँ चरीले मन नपराइदिन सक्छे । चरीले भालेको गुँड जाँचेर मन परे बच्चा कोरल्ने र नपरे अर्को भालेको गुँड हेर्न थाल्छे । भालेले गुँड बनाउँदा निकै चलाखी अपनाउँछ । सिरुको पात बुन्नैबेला गुँडमै बचेरा खेल्ने ठाउँसमेत बनाएको हुन्छ ।

मानिसले आफ्नो घर बनाउन एउटा इन्जिनियरको सहयोग लिन्छ तर चराहरू आफैँ इन्जिनियर हुन् आफ्नो गुँडको । विशेष गरी तोप चरा आफ्नो यस्तो क्षमता पोथीलाई प्रदर्शन गर्नुपर्ने र आफ्नो बसमा पार्नुपर्ने भएकाले पनि गुँडको डिजाइनमा सम्झौता गर्दैन र आफ्नो क्षमताले भ्याएको गर्छन् ।

विशेष सिरुको पातको धागोजस्तो निकालेर त्यो गुँडलाई बाहिरबाट राम्रो देखिने गरी खास डिजाइन दिएको हुन्छ । चरालाई पनि सामान्य ज्ञान हुन्छ कि, अण्डा पर्ने समयमा घर चाहिन्छ भनेर । चराको घर भनेकै गुँड हो, ठूलो चराले ठूलो घर बनाउने गर्छ भने सानो चराले सानो ।

फिरफिरे चराले काँसघारी या सिरुघारीमा काँस वा सिरुको पातलाई आपसमा जोडेर गुँड बनाएको हुन्छ । जुन गुँडलाई यो चराले झारपातको फूललाई कपासको रूप बनाई पातहरूलाई जोडी एउटा सुन्दर गुँड निर्माण गरेको हुन्छ । यो चराले पनि आफ्नो गुँड ३ दिनभित्र निर्माण गरिसकेको हुन्छ । अण्डाबाट बच्चा कोरल्नुपर्ने हुनाले गुँडमा एक किसिमको तापक्रम निर्माण गरिएको हुन्छ ताकि अण्डाबाट सकेसम्म बच्चा छिटो कोरल्न सकियोस् र भर्खर निस्केको बच्चालाई तापक्रमले रक्षा गर्न सकियोेस् भन्ने हेतुले यस्तो किसिमको गुँड वा घर निर्माण गरेको हुन्छ । चरालाई प्रायःजसो गुँड बनाउन भालेले नै योगदान गरेको पाइन्छ । एउटा गुँड तयार पार्न चराहरूलाई सामान्यतया ३ दिनसम्म लाग्ने गर्छ । गुँड बनाउनेदेखि अण्डा पार्न, ओथारो बसेर चल्ला कोरल्न र चल्ला हुर्काउँदासम्म दुईदेखि तीन महिनासम्म लाग्छ ।

चरा अनुसन्धानकर्ताका अनुसार जल अप्सरा त्यस्तो प्रजातिको चरा हो जसले सम्पूर्ण जिम्मेवारी भालेलाई नै छोडिदिन्छे । भालेको काम गुँड बनाउने हुन्छ । गुँड बनिसकेपछि पोथीले अण्डा मात्र पर्ने काम गर्छे । यो प्रजातिको चरा ठूला ताल, खोला र ठुल्ठूला घोलमा मात्र बस्ने हुनाले यिनीहरूले गुँड पनि यस्तै ताल र घोलको अलि माथि उठेको भागमा बनाउने गर्छन् । गुँड त्यस्तो मिहिनेतसाथ बनाएको हुन्न किनकि पोथीले एक पल्टमा चार वटासम्म अण्डा पार्ने भएकाले पोथीले पनि गुँडप्रति त्यति ध्यान दिन्नन् । भालेले गुँड बनाउँदा पानीदेखि अलि माथि उठेको भागमा त्यही पानीभित्रका लेउका पात जम्मा गरेर गुँड बनाउँछ ।

चराहरूमा हामी यस्ता कुरा पनि देख्न सक्छौँ कि जुन कुराको आवश्यकता हो त्यो मात्र गर्ने, त्योभन्दा एक इन्चअगाडि नजाने र एक इन्च पछाडि नहट्ने । यस्ता कुरा हामी मानवका लागि एउटा प्रेरणा बन्न सक्छ । जब प्रजननको समय आउँछ चराहरूले विशेष गरेर आफ्ना बच्चाका लागि मात्र भनेर गुँड घर निर्माण गरेको हुन्छ ।

धोबीनी चरा हाम्रो घरआँगन बगैँचातिरै पाइने चरा हो । यो चरालाई गुँड बनाउन जसरी सजिलो हुन्छ त्यसरी नै बनाएको हुन्छ । यस अर्थमा यो चरा गुँड बनाएर, कुनै बक्सको दुलोमा, घरको भित्ताको प्वालमा वा रुखको प्वालमा गुँड बनाउने गर्छ । झ्यास जम्मा गरेर र आफ्नो शरीरलाई आरामदायी होस् भनेर नरम किसिमको भुवादार सामग्रीद्वारा गुँड निर्माण गरिएको हुन्छ ।

चराको गुँड बनाउने तरिका विभिन्न प्रजातिका आ–आफ्नै तरिका रहेको हुनाले पनि गुँडमा विविधता पाइन्छ । सुगा प्रजातिका चराका आफ्नै खाले जोडी हुन्छन् । यिनीहरू रुखको प्वालमा गुँड लगाउँछन् । हेर्दा राम्रो चिटिक्क परेको प्वाल भए पनि भित्र ठूलो क्षेत्रको धोद्रो रहेको हुन्छ जसमा मसिना काठको बोक्रा बिछ्याइएको हुन्छ र त्यसैमा अण्डा पार्नेदेखि बच्चा कोरल्ने र हुर्काउने गर्छन् ।

यसैगरी, कुनै चरा प्रेममा यती तल्लीन र विलीन हुन्छन्, जसलाई न आफ्नो गुँडको प्रवाह हुन्छ न अण्डाको न त आफ्नो बच्चाकै । सिर्फ प्रवाह छ त केवल उनीहरूलाई प्रेमको । त्यो हो ढुकुर प्रजातिको चरा । उनीहरू गुँड बनाउँदा पनि दुई / चार वटा छेस्का जम्मा गर्छन् अनि त्यहीमाथि अण्डा पार्छन् ।

तस्बिर : मनोज घिमिरे, सोम जिसी

(चराको गुँडको फोटो खिच्दा गुँडको नजिक नगईकन करिब १५/२० मिटर वरैबाट चरालाई असर नगर्ने गरी जुम गरेर खिचिएको हो ।)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!