
धनुषामा कोरोना संक्रमण पुष्टि भएका थप दुई जना क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु रहेको खुलेको छ । सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । नगराइन नगरपालिका स्थित गङ्गुलीमा स्थापना गरिएको प्रादेशिक क्वारेन्टाइनमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रादेशिक क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले संक्रमित दुवै जना जनकपुरधाम उपमहानगरपालिकाका रहेको बताए । उनका अनुसार संक्रमितमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय र वडा नम्बर २१ का २१ वर्षीय पुरुष रहेका छन् । दुवै जना भारतको बिहारबाट आएको र गत जेठ १ देखि क्वारेन्टाइन बस्दै आएको प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए । कोरोना भएनभएको परीक्षणका लागि २ गते स्वाब गरिएको थियो । धनुषामा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।