
केरलाको चंगनाचेरीका स्थानीय अर्जुन गोपाल लकडाउनमा समस्यामा परेकाहरुलाई सहयोग गर्न र खाना खुवाउनका लागि जुटेका छन् । उनी मानिससँगै कुकुरको पनि हेरचाह गर्छन् । झोलाभरी बिस्कुट बोकेर रातको समय २० किलोमिटरसम्म पैदलयात्रा गर्छन् ।

‘म कहिल्यै ठूलो जनावरप्रेमी थिइनँ,’ अर्जुन भन्छन्, ‘मैले यसअघि कहिल्यै सडकका कुकुरलाई खाना खुवाएको पनि थिइनँ । तर, जब म कम्युनिटी किचेनमा आबद्ध भए । त्यसपछि मानिसलाई सहयोग गर्नका लागि निस्किएका बेला कुकुरहरु झुम्मिन थाले । उनीहरुको छाला र हड्डीमात्रै बाँकी थियो ।’
उनले भने, ‘एक दिन दिउँसो मैले सडकमा सुतिरहेको अवस्थामा कुकुर मरेको देखें । त्यस कुकुरलाई नियमित देख्थेँ । न कुनै गाडीले हानेको थियो, न कुनै देखिने चोट नै थियो । भोकले म-यो भनेर निष्कर्ष निकाल्न गाह्रो थिएन । त्यसपछि जीवन फेरियो ।’
उनी रातको समय झोलामा बिस्कुट बोकेर २० किलोमिटरभन्दा बढी समय हिँड्छन् र उनले कहिल्यै यस काममा ब्रेक लिएका छैनन् । सुरुमा उनले आफ्नो घर वरपरका कुकुरलाई खाना खुवाए । त्यसपछि थप भोका कुकुर खोज्दै हिँड्न थाले । सस्तोमा किन्न सकिने र लकडाउनमा सहज उपलब्ध हुने भएकाले उनले बिस्कुट रोजेका हुन् ।
उनी दिउँसो आफ्नाु दुई पाङ्ग्रे सवारीमा खाना खुवाउँछन्, राति हिँडेरै जान्छन् । उनले प्रतिरात यस काममा झन्डै १ हजार ४ सय खर्चन्छन् ।
मार्च २७ मा केरलाका मुख्यमन्त्री पिनारेई विजयनले पनि सडकका जनावर र मन्दिरका बाँदरहरुलाई भोजना गराउन मानिसहरुलाई अनुरोध गरेका थिए । ‘म पहिलो चिन्गाभानम रेल्वे स्टेशन र त्यसपछि मनिप्पुजा र कोडीमाथा जान्छु , अनि फर्किएर कोट्टायाम बस स्टेशन आउँछु ।’ उनी राति चार घण्टा यात्रा गर्छन् ।
कुकुरको निधनबाटै पाठ सिकेका अर्जुनले साना कुकुरका लागि आश्रयको पनि व्यवस्था गरिदिएका छन् । उनी पहिले साना कुकुर बटुलेर आश्रय दिन्छन् र ती कुकुर पाल्नका लागि साथीहरुलाई आग्रह गर्छन् । ‘म स्पे्र प्रयोग गरेर ती कुकुरलाई सफा गर्छु, केही दिनसम्म तातो बनाएर राख्छु र त्यसपछि मेरो घरमै ति कुकुर पाल्नका लागि अन्य मानिस आउँछन्,’ उनले भारतीय सञ्चारमाध्यमसँग भने ।