
भारतीय सिमा हुदैँ लुकिछिपी आएका ४ नेपालीले आफ्नो स्वास्थ्य परीक्षण गरिदिन भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ५ दिनसम्म हिडेर आएका चारै जना नेपाल– भारत सीमाबाट लुकिछिपी जनकपुरधाम आइपुगेको भन्दै धनुषा प्रहरी समक्ष हाजिर हुदैँ आफ्नो स्वास्थ्य परिक्षणका लागि आग्रह समेत गरे ।

प्रहरी समक्ष आत्मसमर्पण गर्दै ती ४ जना नेपालीले भारतमा मर्नुभन्दा आफ्नै मुलुकमा मर्नु बेस रहेको भन्दै लुकिछिपी आएको बताए ।
कामको सिलसिलामा भारतको बिहार मुजफ्फरपुरस्थित नर्मदा कामको सिलसिलामा गएका ४ जना नेपाली विश्वभरी फैलिएको महामारीका कारण भारत सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुलाई कामबाट निकालिदिएको थियो ।
कामबाट निकालिएपछि चारै जना नर्मदामै अलपत्र परेका थिए । कामबाट निकालिएको ५ दिन पछि जसो तसो उनीहरु हिँडेर नेपाल–भारत सिमासम्म पुगे । तर नेपाल–भारत सिमामा सशस्त्र प्रहरीको कडा पहरा रहेकाले चोरबाटो हुदैँ जसोतसो जनकपुरधाम आइपुगेका ती ४ जनाले प्रहरी समक्ष आत्मसमर्पण गर्दै आफुहरु चोरबाटो हुँदै नेपाल छिरेको बताए ।
नेपाली सीमामा प्रवेश गरेका चारै जना जनकपुरधाम स्थित रामानन्द चोकमा प्रहरी समक्ष पुगेर चोरबाटो हुँदै आएको भन्दै स्वास्थ्य जाँचका लागि आत्मसमर्पण गरे । उनीहरु चारै जनालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएको छ ।
धनुषाको सबैला नगरपालिका वाड नम्बर १३ ढोल बज्जा स्थित पर्साही बस्ने ४२ वर्षिय रामअशिस महतो, ४० वर्षिय जवाहरलाल महतो, ३० वर्षिय जानिफ राइन र ४० वर्षिय तिरथलाल महतो कामको सिलसिलामा करिब २ महिना अगाडि भारत विहारको मुज्जफ्फरपुर स्थित नर्मदा पुगेका थिए ।
भारत लकडाउन भएपछि यिनीहरुले काम गरे बापतको दैनिक ज्यालादारीको हिसाबले पैसा दिएर साहुले कामबाट निकालि दिए । रामअशिस महतोले साहुले कामबाट निकालेपछि न त बस्ने न त खाने नै ठेनान थियो र भए भरको पैसाबाट करिब १ महिनासम्म खानेकुरा किनेर आफ्नो दैनिकी जसो तसो चलाए बताए ।
उनले भने– त्यस पछि त पैसापनि सक्यो, पेट चलाउनै गाह«ो, १ महिनासम्म न त त्यहाँको प्रशासन र घरपट्टीले समेत सहयोग नगरेपछि आफुहरु त्यहाँबाट जसोतसो नेपाल नै आयौँ ।
५ दिनसम्म नर्मदाबाट हिडेरै भए पनि जनकपुरधाम सम्म आइपुगेको उनीहरुले बताए । अहिले ति चारै जनाको पिसिआर परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नयाब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।