
कोरोना भाइरसविरुद्धको अभियानमा तीन गाउँपालिकालाई यहाँका चार गैह्रसरकारी संस्थाले सहयोग गरेका छन् । वल्र्ड भिजनको साझेदारीमा जिल्लामा कार्यरत सामुदायिक विकास कार्यक्रम सिन्धुली, ग्रामीण महिला चेतना केन्द (भिडब्लुसिसि), रिलिफ नेपाल र सिड्स नेपाल सिन्धुलीले संयुक्त रुपमा गाउँपालिकाको मागका आधारमा सहयोग गरेका हुन् । तीनपाटन गाउँपालिकामा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खाट अभाव भएको भन्दै खाटको माग भएकाले उक्त गाउँपालिकामा १४ थान खाट सहयोग गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले जानकारी दिनुभयो । फिक्कल गाउँपालिकाबाट खाद्यान्नको माग भएकाले नेपाल सरकारको मापदण्डअनुसार ५० परिवारको लागि राहत सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेको सामुदायिक विकास कार्यक्रम सिन्धुलीका कार्यक्रम संयोजक धनवहादुर माझिले जानकारी दिनुभयो । गोलञ्जोर गाउँपालिकामा सरसफाइका सामग्रीको माग भएकाले सरसफाई सामाग्री प्रदान गरिएको ग्रामिण महिला चेतना केन्द्रका सचिव मुकेश तामाङले जानकारी दिनुभयो । यसैगरी वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेलाई ३० थान पिपिइ सेट र ४ थान थर्मल गन हस्तान्तरण गरिएको छ ।
