
कोरोना भाइरस(कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सुनकोसी नदीमाथि बन्ने प्रिस्टेज पुलको काम अलपत्र छ । लकडाउनको समयमा पनि सडक र पुल निर्माणका काम सञ्चालन हुनेगरी उचित व्यवस्था मिलाउन गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्न नसक्दा बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने प्रिस्टेज पुलको काम अलपत्र परेको हो । लकडाउनका समयमा पनि पुलको काम सञ्चालन गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । तर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्न नसक्दा बाँकी काम अगाडि बढाउन नसकेको गुनासो ठेकेदार कम्पनीको छ । “पुलका दुवैतर्फ जग निर्माण भइसकेको छ । ढलानका लागि वायरसमेत जडान गरिसकेको अवस्थामा काम रोकिएको हो”, ठेकेदार कम्पनी हिम्दुङ एण्ड थोकर लामा जेभीका हिरा लामाले भन्नुभयो, “स्ल्याप ढलान हाल्न मात्र बाँकी छ । काम शुरु गर्नका लागि गृह मन्त्रालयले परिपत्र गरिसकेको छ तर जिल्ला प्रशासन कार्यालयले यसमा आवश्यक सहजीकरण गर्न नमानेपछि काम शुरु गर्न सकिएको छैन् ।” स्थानीय तहको सिफारिससहित फाइल बुझाउँदा पनि जिल्ला प्रशासन कार्यालयले सुनकोसी पुल निर्माणको काममा सहजीकरण नगरेको आरोप लामाको छ । काम सञ्चालन हुन सके १५ दिनमै उक्त पुल निर्माण सम्पन्न भइसक्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न आयोजनाका लागि पासको प्रबन्ध मिलाएको भन्दै सुनकोसी पुलको बाँकी काम शुरु गर्नका लागि पनि आवश्यक सहजीकरण गर्नुपर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । “जेठदेखि भदौसम्म खोला ठूलो हुन्छ, ढलानका लागि तयार पारिएका सबै सामग्री बगाउन सक्छ, त्यसैले पुल निर्माण कार्य अगाडि बढाउनका लागि स्थानीय प्रशासनले सहजीकरण गर्नुपर्दछ” त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष सुकदेव रिसालले भन्नुभयो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले लकडाउनका कारण जिल्लाले कार्यविधि र केही मापदण्ड बनाएको र सोहीअनुसार २५ आयोजना सञ्चालन भएको बताउनुभयो । पुलको ठेकदार सम्पर्कमा आएर मापदण्ड पुरा गरेर योजना अगाडि बढाउन सकिने उहाँको भनाइ छ । उहाँले अनावश्यक हल्ला नगरी मापदण्डमा आएर काम गर्न ठेकेदारलाई सुझाव दिनुभयो । विसं २०७३ मङ्सिरमै सम्झौता भएको यो पुल निर्माणका लागि स्थानीयस्तरमा देखिएको विवादका कारण २०७५ बाट मात्र शुरु भएको थियो । दीर्घरोगीका लागि घरमै औषधि पु¥याइने लकडाउनका कारण समस्यामा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाका दीर्घरोगीले अब घरमै औषधि पाउने भएका छन् । लकडाउनमा औषधिका लागि बाहिर निस्कन झन्झटका साथै जोखिम बढ्ने भएकाले नगरपालिकाले यस्तो उपाए अपनाएको हो । नगरपालिकाका प्रमुख अमानसिं तामाङले वर्षौंदेखि औषधि सेवन गरिरहेका नगरवासीका लागि यस्तो सुविधा दिन शुरु गरिएको बताउनुभयो । आफ्नो घर रहेको स्थान र आफूले सेवन गरिरहेको औषधिको नाम टिपाए औषधि घरमै आइपुग्ने उहाँले दाबी गर्नुभयो । वडामार्फत औषधि घरमा पु¥याइने उहाँको भनाइ छ ।
