बिहिबार, बैशाख ११, २०७७ || 628  पटक पढिएको

पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ । गाउँपालिकाका दुई हजार ५५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण भएको छ । गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका समयमा समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दङ्ग छन् । यसबाहेक गाउँपालिकाले दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ । तरकारी किन्न किसानकै बारीमा लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएसँगै पाल्पाका गाउँगाउँमा कृषकको घर तथा खेतबारीमा तरकारी खरीद गर्न जाने क्रम बढ्दो छ । रामपुर नगरपालिका वडा नं ७ बहखोलाका सुकदेव न्यौपानेलाई तरकारी टिपेर बेच्न भ्याइनभ्याई छ । बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि उहाँको घरमा तरकारी खरीद गर्न व्यापारी तथा ग्राहक पुग्ने गरेका छन् । रामपुरका बेझाड र किसानबारी बजारदेखि ग्राहक तथा व्यापारी घरमै पुगेर तरकारी खरीद गर्न थालेपछि व्यवसायीमा उत्साह बढेको न्यौपानेले बताउनुभयो । “पहिला बजारमा लिएर जानुपथ्र्यो, अहिले घरमै आएर खरीद गरी लैजाने गरेका छन्, तरकारी बेच्न भ्याईनभ्याई छ”, उहाँले भन्नुभयो । उहाँले करीब पाँच रोपनी जग्गामा काँक्रा, लौका, घिँरौला र करेला जातका तरकारी लगाउनुभएको छ । उहाँ लकडाउनयता अहिलेसम्म खर्च कटाएर रु एक लाख ५० हजार बराबरको कृषिजन्य उत्पादन बिक्री गरिएको बताउनुहुन्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन घरमा तरकारी लिन आउनेलाई दूरी कायम गरेर मात्र कृषकले बिक्री गर्ने गरेका छन् । सोही ठाउँकै तुलसी न्यौपानेलाई पनि तरकारी लगाउन र बेच्न भ्याइनभ्याई छ । बिहानको समय तरकारी बिक्री गर्ने तथा बाँकी समय बिरुवा लगाउने र गोडमेल गर्दैमा बित्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । लकडाउनले आफूलाई कृषि कार्यमा व्यस्त बनाएको अर्का कृषक रामपुर –४ बस्ने दिलबहादुर थापाले बताउनुभयो । “पहिला घरमा एकछिन काम सकाएर साथीभाइसँग गफ गर्ने, विभिन्न ठाउँमा घुमफिर गर्ने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले घरबाट बाहिर जान नभएपछि तरकारी लगाउने, टिप्ने बेच्ने कार्य भइरहेको छ ।” उहाँले करीब दश रोपनी जग्गामा करेला, घिरौँला, लौका र बोडी जातका तरकारी लगाउनुभएको छ । उहाँले लकडाउनकै बेला रु एक लाखभन्दा बढीको तरकारी बिक्री गरिसक्नुभयो । जिल्लामा दुई हजार १२६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिए पनि मदनपोखरा, हार्थोक, पोखराथोक र मुझुङ्ग क्षेत्र तरकारीको मुख्य क्षेत्र मानिन्छन् । लकडाउनका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!