शुक्रबार, बैशाख ०५, २०७७ || 828  पटक पढिएको

दाङको घोराही उपमहानगरपालिका –१० नारायणपुरस्थित इँटा उद्योगमा कार्यरत मजदूरले आफूहरुलाई घर फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् । लकडाउनसँंगै करीब एक महिनादेखि कामविहीन बनेपछि मनकामना इँटा उद्योग र गोल्ड इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकले आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । जिल्लाभरका उद्योगमा कम्तीमा सात हजार भारतीय नागरिक रहेको दाङ जिल्ला इँटा उद्योगी व्यवसायी संघले जनाएको छ । दुवै उद्योगमा गरी कम्तीमा पाँच सय भारतीय मजदूर छन् । जिल्लाका प्रतिइँटा उद्योगमा एक सयदेखि २५० सम्म भारतीय मजदूर कार्यरत छन् । उनीहरु भारतीय सीमा जिल्लाका नागरिक हुन् । ती मजदूरसँगै कम्तीमा एक हजार बालबालिकासमेत रहेको बताइएको छ । मनकामना इँटा उद्योगमा कार्यरत श्रमिक विश्वनाथ चौहानले आफू जसरी पनि घर जान चाहेको र आवश्यक परे भारतीय क्वारेन्टाइनमा बस्न तयार रहेको बताउनुभयो । श्रमिक सुनिचा चौहानले आफूसँगै चार शिशु भोकभोकै पर्ने पिरलो मान्नुभयो । उनीहरुले एक महिनादेखि काम नहुँदा पारिश्रमिकसमेत पाएका छैनन् । मनकामना इँटा उद्योगका सञ्चालक रोम वलीले लकडाउनका कारण घर जान चाहने श्रमिकलाई चाहेर पनि फर्काउन नसकिएको र पाल्न गाह्रो भइरहेको बताउनुभयो । उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाइदिन तीनै तहका सरकारबीच समन्वयको अपेक्षा गर्नुभयो । उद्योग बन्द भएसंँगै ती श्रमिकलाई सम्बन्धित उद्योगले नै दालचामलको व्यवस्थापन गर्दै आएका छन् । यस्ता श्रमिकलाई स्थानीय सरकारले राहत उपलब्ध गराएका छैनन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती भारतीय श्रमिकलाई घर फर्काउने विषयमा दुवै देशबीच कूटनीतिक पहल हुनुपर्ने बताउनुभयो । श्रमिकलाई भोकमरीको मारमा पर्न नहुने भएकाले रासनको व्यवस्थापन सम्बन्धित उद्योगले नै गर्नुपर्ने बताउँदै उहाँले समय लम्बिँदै गएमा दीर्घकालीन समाधानका लागि स्थानीय प्रशासनले समेत पहल गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!