बुधबार, चैत्र २६, २०७६ || 706  पटक पढिएको

कोभिड– १९ का कारण पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगञ्ज प्रभावित भएको छ । यहाँका उद्योग, व्यवसाय र पर्यटन क्षेत्र कोरोनाको संक्रमण नियन्त्रणका लागि लागु गरिएको लकडाउनका कारण ठप्प हँुदा लगानीकर्ता निराश हुन थालेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी नेपालगञ्जमा पछिल्लो समयमा ठूला उद्योग स्थापना हुनु बाँकेको आर्थिक बिकासका लागि उत्साहजनक रहेको तर कोरोनाका कारण उद्योग क्षेत्रको लगानी खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुहुन्छ । पछिल्लो समय मात्र बाँकेमा उद्योग सञ्चालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रिटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाइक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोबाइल नेपाल प्रालिको सर्भिस सेन्टरले उद्योग विभागबाट दर्ता अनुमति लिए । तीमध्ये अधिकांश उद्योग सञ्चालनको प्रक्रियामा छन् । पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ । सिद्धार्थ समूहको पहिलेदेखि उत्साहजनक लगानी भइरहेका बेला होटल सोल्टी, सेन्ट्रल प्लाजा, सिटी प्यालेस, सिग्नेट, गोल्डेज ब्लिज जस्ता होटल भित्रिए । देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनी सञ्चालन भई उत्साहजनक तरिकाले सञ्चालन भइरहेको छ । यसले नेपालगञ्जको चमक बढाएको छ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र ऊर्जालगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ चुन्नाले भन्नुभयो, ‘तर विश्वभर फैलिएको कोरोना संक्रमणले औद्योगिक क्षेत्रलाई पूर्णरुपमा शिथिल बनाइदियो ।’ बाँके जिल्ला कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा भएकाले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले उद्योगीलाई कोरोना संक्रमणले नराम्ररी प्रभावित गरिदियो ।’ कर्णाली र सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राखी सरकारले बाँकेको नौवस्तामा प्रदेश नं ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ । यसले आगामी दिनमा नेपालगञ्जलाई आर्थिकरुपमा बलियो बनाउने उत्साह थपेको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली बताउनुहुन्छ । तरकारीको आयात ठप्प नेपालगञ्ज– कर्णाली प्रदेश र प्रदेश नंं ५ का पहाडी जिल्लाबाट आउने जैविक तरकारीको आयात अहिले पूर्णरुपमा रोकिएको छ । नेपालगञ्जमा दाङ, सुर्खेत, दैलेख, रोल्पा, सल्यान, प्युठानलगायत जिल्लाबाट तरकारी आउने गरेको छ । लकडाउनका कारण पहाडी जिल्लाबाट आउने तरकारीको आयात अहिले पूर्णरुपमा ठप्प रहेको नेपालगञ्ज तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । नेपालगञ्जमा विशेष गरी सल्यानको कपुरकोट र अन्य पहाडी जिल्लाको तरकारीले राम्रो बजार लिने गरेको अकरम थोक तरकारी पसलका व्यवस्थापक मोबिन सल्मानी बताउनुहुन्छ । उहाँका अनुसार वर्षको झण्डै ५०० क्विन्टल तरकारी सल्यान कपुरकोटलगायत रोल्पा, दैलेख, बाँके, प्युठान, दाङ्ग र सुर्खेतबाट नेपालगन्ज आयात हुने गरेको छ । नेपालगञ्जका उपभोक्ताको पहिलो रोजाइमा पहाडको तरकारी पर्ने गरेकाले यहाँ पहाडका जैविक तरकारी बढी माग हुने गरेको छ । लकडाउनपछि पहाडी तरकारीको आयात ठप्प हुनाले नेपालगञ्जका उपभोक्ताले स्थानीयस्तरमा उत्पादित तथा भारतबाट आयात गरिएका तरकारी खरीद गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!