
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन मातहतका समितिहरूलाई सर्कुलर जारी गरेको छ।

पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० भित्र उम्मेदवारको नाम जिल्ला समितिमा पठाउनुपर्नेछ। जिल्ला समितिले आवश्यक निर्णयसहित ती नामहरू पुस १५ भित्र प्रदेश समितिमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीमा छलफल गरी पुस २० भित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना सम्भावित उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ।
समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट कम्तीमा तीन पुरुष र तीन महिला उम्मेदवार जातीय क्लस्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा पठाउनुपर्ने सर्कुलरमा उल्लेख छ।
निर्धारित समयभित्र नामहरू केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा नपुगेमा संसदीय बोर्डले नै उम्मेदवार मनोनयन गर्ने व्यवस्था छ। उम्मेदवारको अन्तिम निर्णय संघीय संसदीय बोर्डले गर्ने जसपा नेपालले जनाएको छ।