
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुशासनको पक्षमा तीव्र गतिमा काम गरिरहेको स्पष्ट गरेकी छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले सरकारले नियमित प्रशासनसँगै सुशासन सुनिश्चित गर्न दृढ रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “यो सरकार केवल चुनावी सरकार होइन। जेनजेड आन्दोलनको माग अनुसार बनेको सरकार हो, जसले सुशासनका लागि पनि तीव्र गति साथ काम गरिरहेको छ।”
उनले जनआन्दोलन र जेनजेडको अपेक्षाअनुसार आशातीत उपलब्धि हासिल गर्न समय लाग्ने भए पनि भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्ने छैन भन्ने स्पष्ट पारेकी छन्।
सुशासनको निम्ति राज्यका स्थापित संयन्त्रहरू सक्रिय भइसकेको उनले उल्लेख गरिन्। कार्कीले थपिन्, “यस दिशामा गरिएका कदमबाट केही तत्त्वहरूले प्रत्यक्ष वा परोक्ष धम्की दिन खोजे पनि हामी डराउँदैनौँ। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि आफ्नो व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै निर्धक्क अगाडि बढ्न म आग्रह गर्दछु।”