
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट पुनः उम्मेदवार बन्ने भएका छन्। २०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट चुनाव लडी जित्दै आएका देउवाले यो पटक अन्तिमपटकका लागि उम्मेदवारी दिन लागिएको बताइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न मातहतका सबै पार्टी इकाइलाई निर्देशन दिएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पठाएको परिपत्रमा एक क्षेत्रमा दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गर्ने भनिएको छ।
नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार स्थानीय नेता–कार्यकर्ता तथा नागरिकले देउवालाई पुनः उम्मेदवारी दिन आग्रह गरेका छन्। साउदले, “डडेलधुराका जनताको अपेक्षा–सभापतिज्यूले फेरि एक पटक चुनाव लडून–हामीले भेटेर जानकारी गराएका छौं, उहाँ सकारात्मक हुनुहुन्छ,” भन्ने प्रतिक्रिया दिएका छन्।
उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते जिल्ला कार्यसमिति बैठक बस्ने र सो बैठकबाट देउवाको नाम औपचारिक रूपमा सिफारिस गर्ने तयारी भइरहेको साउदले बताए।
यसैबीच, भेटघाटका क्रममा देउवाले पनि आफूलाई आएको जनअपेक्षा र आग्रहका आधारमा अन्तिमपटक चुनाव लड्ने मनसाय रहेको बताएका छन्। नेविसंघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टले मंगलबार देउवासँग भएको भेटपछि देउवाले “अन्तिमपटक उम्मेदवार बन्छु” भनेको जानकारी दिएका छन्।
देउवा डडेलधुराबाट २०४८, २०५१, 2056, २०६४, २०७०, २०७४ र २०७९ को सातै निर्वाचनमा विजयी भएका छन्। २०४६ सालपछिका सबै निर्वाचनमा विजयी रहने एक मात्र अपराजित नेता देउवा यसपटक आठौँ पटक प्रतिस्पर्धामा उत्रन तयारीमा छन्।
उनी २०४८ सालमा गृहमन्त्री बनेका तथा यतिबेला सम्म ५ पटक प्रधानमन्त्री भइसकेका छन्।