
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व सांसद विराजभक्त श्रेष्ठले हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको नाममा गरिएका घर भत्काइने कार्यलाई ‘विकासको नाममा विनाश’ भएको टिप्पणी गरेका छन्।

शनिबार बिहान सडक विस्तारका क्रममा स्थानीयवासीका घर तथा टहरा भत्काइएपछि उनले आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै जनतालाई रुवाएर गरिने काम विकास नभएको र राज्यले नागरिकमाथि अन्याय गरेको आरोप लगाए।
श्रेष्ठले आफू बागमती प्रदेशसभा सदस्य हुँदादेखि नै हेटौँडाको सडक विस्तारसम्बन्धी मुद्दा प्रदेशसभा तथा विभिन्न फोरममा उठाउँदै आएको उल्लेख गरे। उनले विकास रोक्ने पक्षमा आफूहरू नरहेको तर विकासका नाममा नागरिकलाई विस्थापित गर्न नहुने धारणा राखे।
उनका अनुसार सडक विस्तारका क्रममा मापदण्ड कायम गर्नु आवश्यक भए पनि विधि, प्रक्रिया र स्थानीय पीडितको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो। संविधानले नागरिकलाई हक अधिकार सम्पन्न बनाएको तर व्यवहारमा त्यस्ता अधिकारबाट वञ्चित गराइएको उनले आरोप लगाए।
श्रेष्ठले भने, “शुक्रबार मात्रै सर्वोच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश दिएको थियो। तर, त्यसको बेवास्ता गर्दै घर भत्काइयो। यसले कानुन कमजोर भयो कि जनतालाई हेप्ने बानी बलियो भयो भन्ने प्रश्न उठ्छ।”
उनले थपे, “हाम्रो अनुरोध स्पष्ट थियो—पीडित र सरोकारवालासँग संवाद गरेर मात्रै अगाडि बढ्नुपर्छ। तर संवाद भएको महसुस भएन। काठमाडौँमा जस्तै हेटौँडामा पनि इतिहास बोकेका घरहरू ढले। सरकार बदलिँदा पनि जनताले भोग्ने पीडा उही छ; चोट अन्त्यमा सधैँ जनताले नै सहनुपर्छ।”
