
विराटनगरका प्रतिष्ठित कलाकार र पत्रकारहरूको अभिनयमा तयार भएको नयाँ मैथिली गीत “जाईछे त जो हमर, जान लेने जो” को छायांकन विराटनगर र आसपासका विभिन्न स्थानमा सम्पन्न भएको छ। गीत पत्रकार नवीन कर्णको शब्दरचनामा तयार भएको हो भने प्रमुख भूमिकामा पत्रकार–कलाकार वीरेन्द्र कुमार शाह छन्।

सुनबर्सी नगरपालिकाका घर भएका वीरेन्द्र शाह सानैदेखि पत्रकारिता र कलाकारितामा रुचि राख्दै आएका हुनुहुन्छ। उहाँ समाजसेवा र राजनीतिमा पनि सक्रिय रहनुहुन्छ र कम उमेरमै उल्लेखनीय सफलता हासिल गर्नुभएको छ। यस गीतमा उहाँले चर्चित कलाकार विजय कामत र काजल कर्णसँग सहकार्य गर्नुभएको छ।
गीतको संगीत धर्मेन्द्र शर्माले तयार गर्नुभएको छ भने मधेश प्रदेशका सुप्रसिद्ध गायक राकेश पासमानले स्वर दिएका छन्। केही दिनअघि विराटनगर, कटहरी गाउँपालिका र महेशपुरका ग्रामीण परिवेशमा गीतको छायांकन गरिएको थियो। म्यूजिक भिडियो कार्तिक राजवंशीले निर्देशन गरेका छन्। छायांकन धिरेन्द्र साह, श्रृंगार अशोक मण्डल, र ड्रोन छायांकन फिरोज आलमले गरेका छन्।
निर्मात्री विनिता कर्णका अनुसार, पछिल्ला वर्षहरूमा मैथिली म्यूजिक भिडियोहरूमा द्विअर्थी र अश्लील शब्दहरूको प्रयोग बढ्दै गएको अवस्थामा, भाषाको मौलिकता जोगाउने उद्देश्यले यो गीत निर्माण गरिएको हो।
वीरेन्द्र कुमार शाह बहुआयामी प्रतिभाका धनी हुनुहुन्छ—पत्रकार, कलाकार र समाजसेवीको रूपमा उहाँले समाज र संस्कृतिमा सकारात्मक प्रभाव छोड्नुभएको छ। विगतमा क्यान्सर पीडित बालिकाको उपचारमा सहयोग गर्नु, सामाजिक अभियानहरूमा सक्रिय हुनु, र आवश्यकता पर्दा समुदायसँग हातेमालो गर्नु उहाँको मानवीय दृष्टिकोणको प्रमाण हो।
गीतको म्यूजिक भिडियो चाँडै मैथिली अनलाइन’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। यसअघि, उक्त च्यानलले छठ पर्वको अवसरमा प्रस्तुत गरेको पारम्परिक छठ गीत दर्शकबाट अत्यधिक रुचाइएको थियो।