
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन्।

आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले रोजगारी सिर्जनाका लागि उत्पादन बढाउनुपर्ने बताएका हुन्। उनका अनुसार, श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणका लागि फिल्डमै खटेर काम गर्नेछ।
साम्पाङले उत्पादन बढाउन नसक्दा अधिकांश नेपाली बेरोजगार हुनुपरेको बताए। उनले देश विदेशी ऋणमा होइन, आफ्नै श्रम र मौलिक शैलीमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले भने, “जुन काम आजसम्म भएन, त्यो काम हामी गर्छौं। उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका लागि अब फिल्डमा निस्कन्छौं। अफिसमा बसेर भाषण गरेर हुँदैन। रोजगारी सिर्जना गफले हुँदैन, उत्पादन बढाउनुपर्छ।”
साम्पाङले आफ्नो पार्टी परम्परागत राजनीतिक दलभन्दा फरक हुने दाबी गरे। उनले पार्टी दलको झण्डा नराख्ने तर चुनाव चिन्हका रूपमा माटोको ढिस्को चयन गरिएको बताए।
लोकतन्त्रमा विश्वास राख्ने पार्टीले आवधिक निर्वाचनमा भाग लिने तयारी भइरहेको उनले जानकारी दिए। उनका अनुसार, हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता समूह बनाइनेछ।
निर्वाचन आयोगले आइतबार श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता दिएको हो। साम्पाङले आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गरेका छन्।