हिपमत डटकम

सोमबार, मंसिर १२, २०७९ || 39552  पटक पढिएको

१२ मंसिर, काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालेको हो ।

खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

 

गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।

‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले सामाजिक सञ्जालमार्फत भनेको छ ।

गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।

यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।

अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो ।

काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । १ असार २०७८ मा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!