हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 609  पटक पढिएको

झापाको भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकै खेती गरेका छन् ।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।”

उनले प्रति बिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उनले यसपालि बेमौसमी मकै लगाएका छन् । उनले पानी नजम्ने अली डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए ।

यादवले एउटै मकैको बोटमा दुईवटासम्म घोगा लाग्ने र प्रति घोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताए । उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए । भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टालगायतका सडकपेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकै खेती आफूले सुरु गरेको उनको तर्क छ । “गर्दा यही हुँदोरहेछ”, उनले भने “व्यापारीले पनि भारत पुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकै खेती गर्दा हुन्छ ।”

कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यतिबेला लहलह मकै हुनु खुसीको कुरा भएको बताए । उनले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदोरहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश सिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बनाए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!