
निषेधाज्ञाबारे संघीय सरकारले पहिलोपल्ट निर्णय गर्ने अधिकार स्थानिय तहलाई दिएको छ ।
संघीय सरकारले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत स्थानिय पालिकालाई संक्रमित क्षेत्र शील गर्ने र खोल्ने अख्तियारी प्रत्यायोजन गरेको हो । विहीबार मोरङ प्रशासनमा बसेको संकट व्यवस्थापन समितिको बैठकले १७ वटै स्थानिय तहलाई महामारीको दोस्रो र तेस्रो भेरियेन्ट्ससहित डेल्टा प्लस भाइरस देखा पर्ने सम्भावित क्षेत्रलाई अख्तियारी दिएको छ । अब स्थानिय तहले आवश्यकताअनुसार आ–आफ्नो क्षेत्रमा कफ्र्यू लगाउनसमेत सक्ने छन् ।

संक्रमित उपचारपछि घर नफर्कियुञ्जेलसम्म संक्रमित क्षेत्रलाई शील गरेर विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम घरलाई डिस्इन्फेक्ट गर्नेसम्मको अख्तियारी प्रदान गरिएको छ । स्थानिय पालिकामा संघीय सरकारअन्तर्गत सरकारी कार्यालयलाई बन्द गर्नु बाहेक महामारी बेलामा भएजतिको अधिकार प्रत्यायोजन गरेको छ ।
विराटनगर महानगरपालिकासहित जिल्लाभरको हाटबजारलाई नियन्त्रण गर्ने, आवश्यकताअनुसार खोल्न वा बन्द गर्ने अधिकार स्थानिय पालिकालाई दिइएको छ । बैठकले १० दिनका लागि निषेधाज्ञाको समयावधि थपेको छ । विहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म बजार खोल्न दिइएको समयतालिका यथावत छ । मोरङ प्रशासनले साउन १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञाको समयावधि लागु गर्दा विहान ५ बजेदेखि राती ८ बजेसम्म बजार खोल्न दिने निर्णय गरेको थियो तर साउन ७ देखि १४ गतेसम्म निषेधाज्ञा जारी राख्दा विहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै बजार खोल्न पाउने गरी निर्णय गरेको थियो ।
मोरङ प्रशासनले १४ गतेदेखि निषेधाज्ञाको समयावधि थप्दा बजार खोल्ने समयसीमा पुनः घटाउने वा नियन्त्रण गर्ने भन्ने बारे बैठकमाथि बैठक चलेको थाहा पाई व्यापारी आक्रान्त बनेको बेला यस्तो निर्णयले केहि राहत दिएको छ ।
सीमाक्षेत्रबाट निर्वाध दुवै देशका नागरिक आउने जाने भइरहेकोले त्यस्तो कार्यलाई नियन्त्रण गर्ने निर्णय भएको छ । महानगरपालिका–१६ दरैया र केसलियाा, १७ को मटेरवा र इस्लामपुर तथा १८ को भेडियारी नाकाबाट दुवै देशका नागरिक निर्वाध रूपमा आवतजावत गरिरहेकोले ती सबै नाकामा थप सुरक्षा व्यवस्था कडा पारिने भएको छ ।
नेपालबाट काम विशेषले भारत जाने नागरिकको हकमा मोरङ प्रशासनबाट स्वीकृति लिएर मात्रै भन्सार कार्यालयको बाटो भएर जान र भारतबाट अध्ययन, उपचार लगायत विभिन्न सुविधाका लागि नेपाल आउनेलाई भारतले जारी गरेको कागजका आधारमा रानीनाकाबाट हेल्पडेक्सबाट परीक्षण गराई नतिजा नेगेटिभ आएमा मात्रै प्रवेश गर्न दिइने छ ।
बैठकले लामो दूरीका यातायातका सवारी, व्यूटीपार्लर, सैलुन, मल, कम्प्लेक्स, सेनेमा हल र स्कुल कलेजलाई केहि दिन बन्द राख्ने निर्णय गरेको छ । कलेजले साउन २० गतेदेखि कक्षा–११ र साउन ३१ देखि १२ को परीक्षा लिने तयारी गरेकोले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिम कक्षाकोठाको १ बेञ्चमा १ विद्यार्थी राखेर परीक्षा लिनु पर्ने गरी मोरङ प्रशासनले पत्राचार गरेको छ ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।