
जनकपुरधाम – मधेस प्रदेशसभाकी उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवाद सम्बन्धी सर्वोच्च अदालतले जारी गरेको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा प्राप्त भइसकेको जानकारी दिएकी छन्।

उनका अनुसार सर्वोच्च अदालतद्वारा मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरिएको परमादेशको पत्र सोमबार राति साढे ८ बजे सचिवालयमा आइपुगेको हो।
उपसभामुख राउतले भनिन्, “प्रदेशसभा सचिवालयमा सर्वोच्चको पत्र आइसकेको छ। अब हामी मुख्यमन्त्री कार्यालयबाट आउने पत्रको प्रतीक्षामा छौँ।”
मुख्यमन्त्री कार्यालयबाट पत्र उपलब्ध हुनेबित्तिकै प्रदेशसभा बैठक बोलाउन आफूहरू तयार रहेको पनि उनले स्पष्ट पारिन्।