
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको भए पनि त्यससम्बन्धी पत्र अझै प्राप्त नभएको बताएका छन्।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको थियो। तर आदेशको औपचारिक पत्र आइसके-नआएको बारे उनले अनिश्चितता व्यक्त गरे। यादवले भने, “अब केही बेरपछि मेल चेक गर्छु, चिठी आएको छ कि छैन भन्ने हेर्छु।”
मुख्यमन्त्री यादवले अदालतको आदेश शिरोधार्य गर्दै आवश्यक प्रक्रिया अघि बढाउने बताए। विश्वासको मतका लागि राजनीतिक परामर्श चलिरहेको बताउँदै उनले मत नआए राजीनामा दिन पनि आफू तैयार रहेको संकेत दिए।
उनले भने, “सर्वोच्चको परमादेशअनुसार विश्वासको मत लिनका लागि परामर्श अगाडि बढाएको छु। सकिन्छ कि सकिँदैन—छिट्टै थाहा हुन्छ। विश्वासको मत लिन नसक्ने स्थिति आए भने म राजीनामा दिनेछु।”