साहित्यकार खरेलको ‘टिलो’ कथासङ्ग्रहमाथि परिचर्चा

साहित्यकार एवं पत्रकार शंकर खरेलको हालै प्रकाशित ‘टिलो’ कथासङ्ग्रहका बारेमा परिचर्चा

हिपमत डटकम

शनिबार, भाद्र ०५, २०७८ || 2235  पटक पढिएको

विराटनगर । साहित्यकार एवं पत्रकार शंकर खरेलको हालै प्रकाशित ‘टिलो’ कथासङ्ग्रहका बारेमा परिचर्चा गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको नियमित मासिक कार्यक्रमअन्तर्गत ‘टिलो’ कथासङ्ग्रहमाथि परिचर्चा गरिएको हो ।

मकालु टेलिभिजनको हलमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार र समीक्षकले ‘टिलो’ कथासंग्रहमाथि आफ्ना समालोचकीय दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार रामबाबु दाहालले पाठकीय दृष्टिकोण राखे । उनले सङ्ग्रहभित्रका सबैजसो कथाले पाठकको मन जित्ने दाबी गरे । सङ्ग्रहमा केही कमीकमजोरी भए पनि कथाकारले पाठकको मनोविज्ञानलाई बुझेर कथा लेखेको उनको टिप्पणी थियो ।

अर्का साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ले कथासङ्ग्रहमा प्रयोग भएका भाषाशैलीका विषयमा प्रकाश पारे । सङ्ग्रहमा भाषाशैली सरल र सबैले बुझ्ने किसिमबाट प्रयोग भएको उनको टिप्पणी थियो । त्यस्तै साहित्यकार हरि कट्टेलले कथाको विषयवस्तु र प्रस्तुतिका विषयमा धारणा राखेका थिए । उनले सङ्ग्रहका कथाले समाजका गलत प्रवृत्तिलाई सशक्त रुपमा उजागर गरेको उल्लेख गरे । उनले भने, “सङ्ग्रहमा समावेश गरिएका कथामा आफ्नै गाउँ–ठाउँका विषयवस्तु र दिनहुँ भेटिरहने व्यक्ति नै पात्रका रुपमा उभ्याइएको छ ।”

साहित्यकार भरत गुरागार्इंले कथासङ्ग्रहलाई आधार मानेर लेखेको ‘टिलो’ कविता सुनाए । कथाकार खरेलले लेखकीय मन्तव्य राख्दै कथाका विषयवस्तु र पात्र काल्पनिक नभएर यथार्थमा आधारित भएको बताए । उनले समाजमा देखे भोगेका विषयलाई आफूले कथामा उतारेको प्रस्ट पारे । “सङ्ग्रहका कथाहरू सतप्रतिशत यथार्थमा आधारित छन्,” उनले थपे, “त्यसमा थोरै कल्पनाको जलपमात्रै लगाइएको छ ।”

आयोजक संस्थाकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रतिष्ठानका महासचिव उमेश दाहाल, कार्यक्रम संयोजक मीनकुमार नवोदितलगायतले कथासङ्ग्रहका विषयमा आ–आफ्ना धारणा राखे । हालै प्रकाशित सङ्ग्रहमा विभिन्न शीर्षकका १९ वटा कथा सङ्ग्रहित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!